मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

काठमाडौं ।  ग्रिन कार्ड को प्रलोभनमा पारी मौरिसस पुर्‍याइ मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । 

न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ । 

पीडितबाट रु दुई लाख ५० हजार लिइ विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाएर  समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 


अभियुक्त न्यौपानेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिइ  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रासस 
 

प्रतिक्रिया