पुटिनले दिए रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धबाट १ लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएपछि पुटिनको यस्तो आदेश दिएका हुन् । युक्रेनले गत मंगलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो । 

उनले किभले ‘द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्न चाहेको आरोप पनि लगाएका छन् । युक्रेनले आक्रमणको उचित जवाफ पाउने पुटिनको  चेतावनी छ । क्षेत्रीय गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा युद्ध सुरु भएपछि करिब १ लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र १ सय २१ भन्दा बढी घाइते भएको जानकारी दिएका छन् । 

कुर्स्कका अधिकारीहरूले १४ हजार बासिन्दा भएको बेलोभ्स्की जिल्लालाई समावेश गर्न आफ्नो निकासी क्षेत्र फराकिलो बनाउँदै गरेको घोषणा गरेका छन् । युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा शहर र गाउँ कब्जा गरेको छ । यो अभियान रुसी सेनालाई तन्काउन र अग्रपङ्क्तिमा महिनौँको सुस्त रुसी प्रगतिपछि देशलाई अस्थिर बनाउनका लागि भएको समाचारमा उल्लेख छ ।
 

प्रतिक्रिया