कैद मिनाहा विवादमा नआओस् भनेर ६२० कैदीबन्दीको विवरण सार्वजनिक

काठमाडौ । कारागार व्यवस्थापन विभागले देशभरका कारागारबाट आएको ६ सय २० जना कैदीबन्दीको विवरण सार्वजनिक गरेको हो । वर्ष कैद मिनाहा पाउने व्यक्तिको विषयमा विवाद नआओस भनेर नै कारागार व्यवस्थापन विभागले कैदीहरूको सूची सार्वजनिक गरेर नागरिकको प्रतिक्रिया मागेको हो । सिफारिसमा पर्नेहरूमा आफूउपर परेको सजायको ५० प्रतिशत कैद बसिसकेका ५ सय ८६ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन् ।  यस्तै ३ जना जेष्ठ नागरिक छन् । सबैभन्दा बढी चोरी मुद्दाका १ सय ८५ जना, बहुविवाह मुद्दाका १ सय ४३ जना, सवारी ज्यान मुद्दाका ९५ जना, नकाबजनी चोरी मुद्दाका ८२ जना, डाँका मुद्दाका ७३ जना र अन्य विभिन्न कसुरका कैदीहरू छन् । कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कर्तव्य ज्यान मुद्दामा जेल परेका व्यक्तिलाई कैद मिनाहा दिन पीडित परिवारले स्वीकृति नदिए यो सिफारिस कार्यान्वयन हुने छैन । कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ । गतवर्ष कर्तव्य ज्यान मुद्दामा कैदकट्टी तथा माफी मिनाहा पाएका रेशम चौधरी र चेतन मानन्धर ‘रिगल’ जेलमुक्त भएपछि सरकारबाट हुने माफी मिनाहाको चौतर्फी आलोचना भएको थियो । 
 

प्रतिक्रिया