हैजा र डेंगुलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेंगुको सङ्क्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ ।
मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र सङ्क्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगु प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगु परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
डेंगु नियन्त्रणका लागि विनियोजित १० करोड रुपैँयाबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको वासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला, र जुम्लाबाहेक ७३ जिल्लाहरूमा तीन हजार तीन सयभन्दा बढी व्यक्तिमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । साथै डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया