ग्रीसको जङ्गलमा लागेको डढेलोबाट एक जनाको मृत्यु

एजेन्सी । ग्रीसको एथेन्स शहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी सोमबार एक जनाको मृत्यु भएको छ । 

ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ ।  आइतबारदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । उत्तरी एथेन्सको भ्रिलिसिया शहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको बीबीसीले जनाएको छ ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ । एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । 

सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन ६ सय ७० वटा दमकल परिचालन गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । 

ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया