थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा

एजेन्सी । फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै साता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ ।  

अदालतले राज्यको प्रमुख प्रतिपक्षी दललाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आउन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको आरोप लागेको हो । पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो । पिचितको नियुक्ति विवादित बनेपछि यसबाट प्रधानमन्त्री श्रेथालाई कुनै असर नपरोस् भनी उनले आफ्नो भूमिकाबाट राजीनामा दिएका छन् । तर, संवैधानिक अदालतले भने सेनाद्वारा नियुक्त सिनेटरहरूको उजुरीको आधारमा सुरु भएको मुद्दाको सुनुवाईको तयारी थालेको छ । 

संवैधानिक अदालतले यसअघि पनि प्रधानमन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ । गत वर्ष राजनीतिमा प्रवेश गरेका रियल इस्टेट डेभलपर श्रेथाले आफू सत्तामा आएदेखि नै विरोधको सामना गर्दै आएका छन ।  उता युरोपेली सङ्घ, अमेरिका, संयुक्त राष्ट्रसंघ र मानव अधिकार समूहहरूले पिताको मुभ फरवार्ड पार्टी  विघटन गर्ने अदालतको निर्णयको निन्दा गरेका छन् ।। 
 

प्रतिक्रिया