पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको माओवादी अध्यक्ष दाहालको टिप्पणी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी दाहालले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
 
पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण विषयमा बहस सुरु भएको सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासमा दाहालले भने, “केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।” पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समितिको बैठकमा आज पाँच जना नेताहरुले पार्टी निर्माण, साङ्गठनिक संरचना, समसामयिक राजनीतिक विषयमा धारणा राखेका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

आजको बैठकमा धारणा राख्ने नेताहरुले सदन र सडकलाई थप प्रभावकारी बनाउने एवं स्पष्ट कार्यनीति, कार्ययोजनासहित जनतामा जानुपर्नेमा जोड दिएका थिए। पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने, जनताका एजेण्डालाई थप प्रष्टतासहित उठाउनुपर्नेमा जरुरी रहेकामा नेताहरुको जोड थियो । राजनीतिक परिवर्तनपछि आर्थिक विकास हुन नसकेको, आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसकेको सन्दर्भलाई जोड दिएर खास अर्थमा पार्टीले पहल गर्नुपर्नेमा नेताहरुको जोड थियो । 

संविधानप्रदत्त समाजवादलाई नेपाली विशेषतामा लागू गर्दै समाजवादी प्रतिस्पर्धामा जानुपर्ने नेताहरुको धारणा रहेको थियो । स्थायी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने र थप कार्ययोजना पारित गर्ने तयारीमा माओवादी रहेको छ । पार्टीभित्र पुस्तान्तरणका विषयमा छलफल भएको उल्लेख  गर्दै प्रवक्ता सापकोटाले बेठकको अन्त्यसम्म एउटा निष्कर्ष आउने बताए । 

आजको बैठकमा नेताहरु दिनानाथ शर्मा, अञ्जना विसङ्खे, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा र पेशल खतिवडाले आफ्नो धारणा राखेका थिए । 
 

प्रतिक्रिया