शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड

काठमाडौं । शेयर बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ विन्दुभन्दा माथि पुग्दा २७ अर्बभन्दा धेरै रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ ।

आइतबार ९४ दशमलब ५३ अंकले बजार बढ्दा २६ अर्ब ७१ करोडको सेयर खरिद बिक्री भएको थियो ।  उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आज दिन सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १ सय ७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ उपसमूहमध्ये११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ।

कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया