भारतीय विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच शिष्टाचार भेट

नेपालमा ‘एयर कनेक्टिभिटी’ बढाउन थप हवाई रुट माग

काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा  सोमबार भएको सो भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् । मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।

भेटवार्तामा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।
मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन् । उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । उनले दार्चुलाको पुल उद्घाटन, व्यापार तथा पारवहनसम्बन्धी वार्ताको निरन्तरताको चर्चा पनि गरेकी छिन्।

प्रतिक्रिया