साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ । 

    देवघाटमा ५० हजार भक्तजन आउने 

तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५÷२५ भक्तजन आएका उनले बताए । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बराललको भनाई छ  । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 

    सप्तरीका शिवालयमा व्रतालुको घुइँचो 

यसैगरी सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताए

साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उनको भनाई छ

जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका–२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरे पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी अर्घाखाँचीको सिद्धेश्वर शिवालय म्याग्दीको गलेश्वर लगायतका शिवमन्दिरमा भक्तजनको भीड लागेको छ । 

    रासस

प्रतिक्रिया