चलचित्र  ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा

काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । 

आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए । । 

“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई चलचित्रभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने ।  

नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रमा नेपाल र प्रवासी नेपालीको विवाह सन्दर्भलाई देखाइएको छ । अभिनेत्री आँचल शर्माले यस चलचित्रमा आफूले चुलबुले तर आत्मविश्वासी युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिइन् । । चलचित्रमा आँचलको जोडीका रुपमा विवेक कर्मचार्यलाई देख्न सकिन्छ । अभिनेता कर्माचार्यले  पात्रलाई जीवन्त बनाउन सक्दो मेहनत गरेको प्रतिक्रिया दिए ।  

चलचित्रमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

 
रासस

प्रतिक्रिया