गण्डकीमा सकार बिस्तारमा कांग्रेस र एमालेको कुरा नमिल्दा ३ वटा मन्त्रालय मन्त्रीबिहीन

पोखरा । गण्डकी प्रदेशमा सरकार बिस्तारको काम अलमलिएको छ । 

गत असार १७ गते केन्द्रमा एमाले र कांग्रेसको गठबन्धन बनेपछि प्रदेश सरकार पनि मुख्य मन्त्री र मन्त्रालय भागवण्डामा गठन भएका छन् । 

तर कांग्रेस एमाले सरकार नबन्दै  नेपाल समाजवादी पार्टी,राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङगेको समर्थनमा कांग्रेसका सुरेन्द्रराज  पाण्डे गण्डकीमा मुख्यमन्त्री बनेका थिए । उनी आफूलाई अप्ठ्यारो परेका बेला साथ दिएका र मन्त्री रहेका  समाजवादीका नेता  फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद  मनाङेलाई हटाउने पक्षमा छैनन् । देवकोटा र मनाङेले सम्हालेका मन्त्रालय यथावत राखेर बाँकीमा कांग्रेस र एमालेबीच आधा –आधा भागवण्डा लगाउनु पर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ ।

तर यसमा एमाले अझै सहमतीमा आइसकेको छैन । एमाले, देवकोटा र मनाङेले लिएको मन्त्रालय कांग्रेसको कोटामा पार्नुपर्ने अडानमा छ । तर कांग्रेस पनि त्यसमा सहमत छैन ।गण्डकीमा ७ वटा मन्त्रालय रहेका छन् । त्यसमा कांग्रेसले एमालेलाई २ वटा मन्त्रालय लिन प्रस्ताव गरेको छ । तर एमालेले त्यसमा सहमती जनाउन नसक्ने एमालेका एक प्रदेश सांसदले बताए । एमालेले ३ वटा मन्त्रालय मागेको छ ।  त्यसो नभए मन्त्रालय संख्या ९ पुर्याउने र भागवण्डा गर्ने विषयमा पनि छलफल भएको र त्यसमा पनि कुरा मिलेको छैन । एमालेले मन्त्रालय संख्या बढाए आधा मन्त्रालय आफूले पाउनु पर्ने अडान राखेको छ ।

७ वटा मन्त्रालय मध्ये गण्डकीमा मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री सहित भूमि व्यवस्था तथा कृषि र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाली रहेका छन् । भूमि व्यवस्था तथा कृषि र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रीबिहीन छन् ।

अरु मन्त्रालयमा कांग्रेसबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा र अर्थमन्त्री डा. टकराज गुरुङ छन् । त्यसैगरी समाजवादीका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङे भौतिक पूर्वाधार विकास मन्त्री छन् । साउन महिनाभित्रै गण्डकीमा एमाले सरकारमा जाने भनिएको थियो । तर प्रदेशमा सहमति बन्ने छाँटकाँट अहिलेसम्म नदेखिएपछि केन्द्रमा शीर्ष नेता तहमा छलफल पछि मन्त्रिपरिषद् बिस्तार गर्ने पक्षमा कांग्रेस एमाले रहेका छन् । 

प्रतिक्रिया