धरानमा आन्दोलनरत राजनीतिक दल र नगरप्रमुखबीच तीन बुँदे सहमति

धरान । धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र नगरप्रमुख हर्क साम्पाङबीच तीन बुँदे सहमति भएको छ । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका राजनीतिक दल र नगरप्रमुख साम्पाङबीच आज भएको ६ घण्टा लामो वार्ता सफल भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरू सहमति गर्न बाध्य भएका हुन् ।सहमति बारे आज सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताइएको छ । वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा र आन्दोलनरत दलका नेताहरु सहभागि रहेका थिए । शुल्क र महसुल बढाइएपछि विभिन्न १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशत सम्म वृद्धि गरेको गरेपछि धरानका राजनीतिक दलहरू आन्दोलित बनेका उनीहरूले विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यालयमा धर्ना तथा तालाबन्दी गरेका थिए । तर, तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले बिहीबार देखी धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए ।। 
 

प्रतिक्रिया