आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड
काठमाडौं । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा आज पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
अन्तिम सोमबार भक्तजन धेरै हुने भएकाले पशुपतिनाथ मन्दिरका चार ढोका बिहान सवा तीन बजेदेखि नै भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा रहेका छन् ।
सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि पशुपति क्षेत्रमा भीड छ । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रूपमा लिइन्छ। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गदर्छन् ।
प्रतिक्रिया