स्वास्थ्य मन्त्रीको प्राथमिकता र दीर्घकालीन कार्ययोजना सार्वजनिक, बीमा पाँच लाख पुर्‍याउन प्रस्ताव(पूर्णपाठ)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयका प्राथमिकता र दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेका छन् ।  आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्थानीय तह र प्रदेश सरकारहरूसँगको समन्वयमा पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापन गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अघि सारेका छन् । 

मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनाबाहेक अन्य पुरानै योजना अघि सारेका छन् । मन्त्रीले पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा १ लाखबाट ५ लाख बढाउने प्रस्ताव गरेका छन् भने राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गरिने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई  एकीकृत गरेर बिमामा जोड्ने योजना मन्त्री पौडेलले अघि सारेका छन् ।

उनले १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घाकालीन योजना ल्याइएको बताएका छन् । जुन पुरानै योजना हुन् ।  पौडेलले सातै प्रदेशमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताएका छन् । 

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उनले अघि सारेका छन् । यी योजना कार्यान्वयन गर्नका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरिएको मन्त्री पौडेलले बताए ।

उनले योजना कार्यान्वयनका लागि पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, पूर्व महाशाखा प्रमुख, स्वास्थ्य क्षेत्रका सरोकारवाला सङ्घ, संस्था र नियकाहरुका प्रतिनिधि, बहालवाला कर्मचारी, अस्पतालका निर्देशक, सञ्चारकर्मी र निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग सुझाव लिइएको बताए । 

प्रतिक्रिया