लिमी उपत्यकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौ । हुम्लाको सिमिकोट-लिमी-लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सिमिकोट-लिमी-लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताएका हुन । लिमी उपत्यकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सरकारले प्राथमिकताका साथ काम गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले हिल्सा नाकालाई सहज ढंगले आवतजावत गर्नसक्ने बनाउनुपर्ने बताए । 
सो क्रममा लिमी उपत्यकावासीले किसानलाई जीविकोपार्जनका लागि विशेष अनुदानको व्यवस्था गर्न ध्यानाकर्षण गराए । पर्यटकीय उपत्यका भएकाले कैलाश मानसरोवर दर्शन गर्ने स्थानको लाप्चामा हाईलाईन पार्क बनाउनका लागि आवश्यक अध्ययन अनुसन्धानसहित बजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ । यसले पर्यटक प्रवद्र्धननमा मद्दत पुग्नुका साथै स्थानीयवासीको आय आर्जनमा वृद्धि हुने भएकाले जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा लिएको स्थानीयहरुको भनाइ छ । स्थानीयवासीले जलवायु परिवर्तनका कारण त्यहांको जीवन पद्धतिमा आएको परिवर्तनका कारण स्थानीयवासी तथा जैविक सम्पदाहरु प्रभावित भएकाले ‘जलवायु न्याय विशेष कार्यक्रम’ सञ्चालन गर्न आग्रह गरेका छन् । अहिले प्रयोग भएको सडक ६ महिना चल्ने र हिउँ पर्न थालेपछि बन्द हुने भएकाले लिमीवासीले सधैँ चल्नसक्ने सडक बनाउन सरकारसँग माग गरेका हुन् । 

प्रतिक्रिया