माओवादी नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न उपमहासचिव शर्माको प्रस्ताव

प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा शर्माले यस्तो लिखित प्रस्ताव अघि सारेका हुन् । ओरालो यात्रामा रहेको माओवादीलाई पुनः गति दिनु अहिलेको आवश्यकता रहेको भन्दै शर्माले त्यसका लागि पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा पार्टी निर्माण सम्पूर्ण विषय समेटेर आफ्नो प्रस्ताव पेस गरेका हुन् । यस सम्बन्धी प्रस्ताव पार्टीमा राख्दासमेत कुनै सुनवाइ नभएसँगै पार्टीको ओरालो यात्रा सुरु भएको शर्माको निष्कर्ष छ  ।

यस्तै पार्टीको तर्फबाट संवैधानिक र नीतिगत व्यवस्थालाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमार्फत संस्थागत गरी स्थायित्व दिनु आवश्यक भए पनि त्यसो हुन नसकेको शर्माको निष्कर्ष छ । 
शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव समेत  दिएका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ ।

त्यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माले प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया