पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरीकाको टक्कर

काठमाडौं । तीन साता लामो खेल गतिविधिपछि पेरिस ओलम्पिक २०२४ आइतबार समापन हुँदैछ । 

स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । समारोह ८० हजार दर्शक सहभागी हुने अपेक्षा छ । समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट समेत हुनेछ । समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ । 

ग्रिस्म कालिन ओलम्पिक अन्तर्गत आइतबार अन्तिम दिन १३ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको चीनले हालसम्म ३९ स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ९० पदक जितेको छ । दोस्रो स्थानमा झरेको अमेरिकाले चीन भन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५औं दिनको समाप्तीसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ । 

यस्तै, तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्य सहित कुल ४५ पदक जितेको छ । चौंथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ काश्यसहित कुल ४३ पदक जितेको छ । 

आयोजक फ्रान्सले १६ स्वर्ण सहित कुल ६२ पदक हात पारेको छ । १४ स्वर्ण २२ रजत र २२ कास्य जितेको बेलायत छैटौं स्थानमा यथावत छ । ओलम्पिकमा दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः ७औं ,८औं र ९औं स्थानमा छन् । 

प्रतिक्रिया