जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री

फाइल तस्बिर

गण्डकी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “ जनतामा  विकासको आशा जगाउन   वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।”  

उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो नभएको बताए । “मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि  नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको थियो”, उनले भने, “मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।”

वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका  सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनुहुँदैन भने । उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति  गराउन सरकार क्रियाशील रहेको बताए ।

रासस 
 

प्रतिक्रिया