ढाकामा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

एजेन्सी । बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए । आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग समेत गरेका छन् । 

जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले शनिबार दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन् । बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएको समाचारमा उल्लेख गरिएको छ । 

संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन् । स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा भइरहेको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि यही अगस्ट ५ का दिन प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिना देशै छाडेर भागेकी हुन् ।

साथै, गत बिहीबार मात्र नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।
 

प्रतिक्रिया