युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

एजेन्सी । अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोध र विश्वव्यापी  आग्रहमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ । 

नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ । गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने विषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ । 

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका थिए । 
मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ । जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो । 

प्रतिक्रिया