भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

काठमाडौँ ।  परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । 

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री साउन २८ गते काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

उनको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया