कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति पुन: पक्राउ
सुदूरपश्चिम । चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा पुन: प्रहरीले पक्राउ गरेको छ ।
उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर राखेका चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायललगायत गरगहना, सिक्का, घडी र रु छ हजार एक सय ३५ सहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका सहप्रवक्ता लोकेन्द्र कार्कीले धनगढी उपमहानगरपालिका–४ का योगेन्द्र ओझाको घरबाट नगद रु २५ हजार, ५०/६० तोला चाँदी र १४/१५ तोला सुनका गरगहना चोरी भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज गिरीलाई उक्त चाँदीका गरगहनासहित पक्राउ गरिएको बताए ।
ओझाको घरमा यही साउन २३ गते चोरी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१ का अमन नेपाली नामका व्यक्ति बस्ने घरको कोठाबाट पक्राउ परेका गिरीले चोरी गरेका चाँदीका गरगहना सहितका सामग्री सोही ठाउँका आशा भण्डारीको घरमा राखिएको अवस्थामा बरामद गरिएको हो ।
चोरी मुद्दामा पाँच वर्ष कैदसजाय भुक्तान गरेर गिरी यही साउन १७ गते कारागारबाट छुटेका थिए ।
रासस
प्रतिक्रिया