वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरी लाभान्वित

काठमाडौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन । आज ललितपुरमा आयोजित कार्यक्रममा उनले  देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताएका हुन । मन्त्री शाहीले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धि र सफलताहरु विश्वमा नै उदाहरणीय रहेको जिकिर गरे । 
मन्त्री शाहीले सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि, वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गरे । कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको उनको भनाइ छ ।
 

प्रतिक्रिया