८ वर्षमा घाटा पूर्ति गरेर विद्युत प्राधिकरणले कमायो ४७ अर्ब नाफा

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको बताएका हुन् । उनले विद्युत प्राधिकरणे विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफा गरेको र त्यसमा डेडिकेटेड र ट्रंक लाइनको बिल नजोडिएको दाबी गरेका हुन् । 
घिसिङले प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको जानकारी पनि दिए । विगत ३ वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाएर संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे । उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा अहिले ९९ प्रतिशत पुगेको पनि बताए । 
उनले विगत ८ वर्षमा प्राधिकरण करिव एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको पनि बताए । घिसिङले आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र संवद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए । उनले नेपालको विद्युत छिट्टै बङ्गलादेश निर्यात हुने पनि बताए । बंगलादेशमा विद्युत निर्यातका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको उनको भनाइ छ ।
 

प्रतिक्रिया