नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता हो : प्रदीप पौडेल

बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

 नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने बताए । 


अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले उल्लेख गरे  । 

अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउनेगरी व्यवस्था गर्न आग्रह गरे ।  

सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रकाश थापाले भेरी अस्पतालको अहिलेको अवस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी गराए ।  स्वास्थ्य सचिव डा.रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताउँदै भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताए । 

अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय सांसद दीपा शर्माले भेरी अस्पताल पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै प्रेषण केन्द्रका रुपमा रहेकाले यसको स्रोतसाधन, दक्ष जनशक्ति र भौतिक पूर्वाधारमा मन्त्रालयले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिए । 

रासस 
 

प्रतिक्रिया