टेलरकोे कन्सर्टमा आक्रमण गर्न खोज्ने १८ वर्षीय इराकी पक्राउ,२० हजारको ज्यान जोगियो

एजेन्सी । अस्ट्रियाको राजधानी भियनामा अमेरिकी पप स्टार टेलर स्वीफ्टको कन्सर्टमा आक्रमण गर्न खोज्ने १८ वर्षीय इराकी नागरिकलाई शुक्रबार पक्राउ गरिएको छ । 

भियनामा गत बुधबार स्वीफ्टको कन्सर्ट हुन लालेको बेला इस्लामिक स्टेट आवद्ध लडाकुले आक्रमण गर्न खोजेको हल्ला चलेपछि कन्सर्ट स्थगित गरिएको थियो । त्यसको  अनुसन्धानका क्रममा १८ वर्षीय ती इराकी नागरिकलाई भियनामा पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इराकी नागरिक मुख्य संदिग्ध र उनका सहयोगीमा १९ वर्षीय अस्ट्रियाली र उत्तर म्यासेडोनियाली मूलका एक ब्यक्ति भएको बताइएको छ । इस्लामिक स्टेट (आइएस) प्रति वफादार रहेको कसम खाएका मुख्य संदिग्धले भियनाको अर्न्स्ट हाप्पेल स्टेडियमबाहिर भेला हुन लागेका अनुमानित २० हजार स्वीफ्ट समर्थकलाई निशाना बनाएर  आक्रमणको योजना बनाइरहेका जनाइएको छ । 

अमेरिकी पपस्टारले बिहीबार, शुक्रबार र शनिबार भियनामा कन्सर्ट गर्ने योजना बनाएकी थिइन् । सुरक्षाको कारण देखाउँदै ती सबै कार्यक्रम बुधबार राति नै रद्द गरिएको थियो ।


 

प्रतिक्रिया