अब कहाँ जालिन त शेख हसिना ? अन्यौंलमा गन्तब्य

एजेन्सी । बंगलादेशबाट शेख हसिनाको बहिर्गमनपछि उनको अन्तिम गन्तव्य कहाँ जाने भन्ने अझै स्पष्ट भएको छैन ।

गत सोमबार प्रधानमन्त्री पदबाट राजीनामा  दिएर भारत भागेकी हसिनालाई भारतले लामो समयसम्म त्यहाँ बस्न दिने संभावना कम देखिएको छ ।  यसको जनाउ भारतीय विदेशमन्त्री  एस जयशंकरले दिइसको छन् । उनले  भारत हसिनाको अन्तिम गन्तव्य नभएको र हसिनाले छोटो समयको भारत भ्रमणका लागि अनुमति मागेको बताएका छन् ।शेख हसिनाका छोरा सजीब वाजिदले आफ्नी आमाले कुनै पनि देशसँग राजनीतिक शरण नमागेको बताएका छन् । यस्तो अवस्थामा हसिनाको गन्तव्य के होला भन्ने प्रश्न उठ्छ । के यसमा बेलायत, अमेरिका वा कुनै पश्चिमी देशले उनलाई राजनीतिक शरण देलान त ? राजनीतिक विश्लेषकहरुका अनुसार यो सम्बन्धित देशहरूले शरणको विषयलाई कसरी हेर्छन् भन्नेमा निर्भर गर्दछ। तर पश्चिमा मुलुकमा  शरण पाउन हसिनालाई गाह्रो हुनेछ । 

किनकि हसिना सत्ताको अन्तिम समयतिरका घटना, दमन,मानव अधिकार,वाक तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको रबैयाप्रति पश्चिमा मुलुक हसिनासँग त्यति खुशी छैनन् ।  त्यसकारण पनि  उनका लागि पश्चिमी मुलुकहरूमा राजनीतिक शरण पाउन कठिन हुन सक्छ । शसिना  सरकारले जसरी दमन र उत्पीडनको बाटो अपनायो, पश्चिमा देशहरू त्यसमा चिन्तित थिए । धेरै अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू र संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्ले पनि  बंगलादेशमा विद्यार्थीहरूको प्रदर्शनमा सुरक्षा बलले बल प्रयोग गरेको विरोधमा आवाज उठाएका थिए।  हसिना अझ धेरै सत्तामा रहेको भए धेरै मानिसमाथि हत्या र दमन हुन सक्थ्यो भन्ने विश्लेषण पश्चिमाहरुको रहेको छ ।  

यदि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बंगलादेशमा भएका पछिल्ला घटनाको छानबिन गरी त्यहाँ मुद्दाको सुनुवाइ सुरु गरेमा नयाँ परिस्थिति सिर्जना हुने र  यस्तो अवस्थामा उनी  बेलायतमा बसे पनि सुरक्षित हुन सक्ने छैनन् । हुनत हसिनाका धेरै पारिवारिक सदस्य हरु अमेरिका र बेलायततिर छन् । तर यसो भन्दैमा उनी आफूलाई लागेको अभियोगबाट सुरक्षित हुन सक्ने छैनन् । विगतमा युरोप र अमेरिकामा तानाशाहहरूलाई राजनीतिक शरण दिइएका थुप्रै उदाहरण हरू छन्। तर ती विशेष परिस्थिति जन्य घटनाहरु थिए ।

कतिपयले भने साउदी अरेबियाले मुस्लिम बाहुल्य रहेको  देशका अपदस्थ तानाशाहलाई  आश्रय दिने गरेकाले हसिनाको गन्तब्य त्यहाँ पनि हुन सक्ने बताएका छन् । तर हसिनाले भने आफ्नो गन्तब्यबारे अहिलेसम्म बताएकी छैनन् । बिगतमा  कतिपय तानाशाहरुले देश छोडेर भाग्ने क्रममा पीडादायी मृत्युवरण गर्नु परेको थियो । 
 

प्रतिक्रिया