मिथिलामा आज लगपाँचे पर्व मनाइँदै

महोत्तरी ।  सम्पूर्ण मिथिला क्षेत्रमा आज लगपाँचे पर्व मनाइँदैछ । मिथिला क्षेत्रका महोत्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा पर्सासहित भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनाका गाउँबस्तीमा आज लगपाँचे पर्व मनाउने गरिन्छ ।


मिथिलाका गाउँटोलको प्रत्येक घरमा आज विषहरा बाबा (नाग देवता) को विशेष पूजाअर्चना हुने गर्दछ  । यो पर्वलाई विषहरा महारानी पनि भन्ने प्रचलन छ ।

मिथिलानीले आज बिहानै आ–आफ्ना घर, आँगन गाईको गोबरले लिपपोत गरी सफा बनाएका छन् । यहाँका महिलाले प्रत्येक घरमा माटोको चुल्होमा पाकेको धानलाई माटोको भाँडोमा भुटेर लावा तयार गराई लावा, गाईको दूध, सिन्दुर, अक्षता, आँपको अचारसहित पूजा सामग्रीले नाग देवताको पूजा गरी यो पर्व मनाइरहेका जलेश्वर–८ का पण्डित उपेन्द्र पाठकले जानकारी दिए । 

मिथिलानीले गाउँको वन वा भिरालो जमिन नजिक सर्पको दुलो खोजी सोही स्थानमा केराको पातमा आँपको अचार, लावा, दुध, सिन्दुर र अक्षतालगायत पूजा सामग्री चढाएर नाग देवतालाई भोग (खान) का लागि आह्वान गर्ने परम्परा रहेको उनले बताए ।

रासस 

    

प्रतिक्रिया