म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/ ८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधीमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए ।
आर्थीक वर्ष २०७७/ ७८ मा सात सय ६२, २०७८/ ७९ मा पाँच सय ७० र २०७९//८० मा तीन सय १७ वटा उद्योग र व्यवसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरु बिदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए ।
रासस
प्रतिक्रिया