निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाइएको भन्दै माइतीघरमा आन्दोलन
काठमाडौँ । निर्मला कुर्मीका लागि न्यायको माग गर्दै आन्दोलनरत् पीडित पक्षले शुक्रबारदेखि माइतीघरमा आन्दोलन थालेका छन् । कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै प्रदेशको मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा पीडित पक्षले माइतीघरमा आन्दोलन थालेका हुन् । अभियन्ता रूबी खानसहित मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खाली खुट्टा हिँडेर माइतीघर आएका छन्। निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो ।
उनीहरूले “निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने” लगायतका मागहरू राखेका छन् ।
बाँकेको नेपालगञ्ज १७ कि निर्मलाका श्रीमानको २०६२ मा मृत्यु भएको थियो। श्रीमानको मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो। श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएका थिए।
त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो। अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।
अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए। कुर्मीको हत्याका मुख्य आरोपी बादसाह कुर्मी मधेस प्रदेशको मन्त्रीम नियुक्त भएपछि अभियुक्तलाई मन्त्री बनाइएको भन्दै पीडितपक्ष थप आन्दोलनमा उत्रिएका हुन्।
प्रतिक्रिया