इजरायल र हमासलाई पुन: वार्तामा आउन अमेरिका, कतार र इजिप्टको संयुक्त आह्वान

एजेन्सी । अमेरिका, इजिप्ट र कतारले इजरायल र हमासलाई युद्धविराम र बन्धक–रिहाई सम्झौतामा पुनः वार्ता गर्न आह्वान गरेका छन् । 

एक संयुक्त विज्ञप्ति जारी गर्दै तीन राष्ट्रहरूले विगतमा बनाइएको युद्धविरामको ढाचामा सहमति गर्न आग्रह गरेका हुन् । इजरायलले दोहा वा कायरोमा १५ अगस्टमा हुने प्रस्तावित वार्तामा वार्ताकारहरू पठाउने बताएको छ । हमासले तत्काल प्रतिक्रिया दिएको छैन ।

गत साता हमासका नेता इस्माइल हनियाहको हत्या भएपछि क्षेत्रीय तनावलाई नियन्त्रणबाट बाहिर निस्कने प्रयासको रुपमा पछिल्लो प्रस्ताव आएको हो । संयुक्त विज्ञप्तिमा, तीन राष्ट्रहरूले इजरायल र हमासलाई १५ अगस्टमा वार्ता पुनः सुरु गर्न निम्तो दिएका छन् । विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हस्ताक्षर गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले युद्धविरामका लागि दबाब दिइरहेको छ तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पराजित भएपछि मात्रै द्वन्द्व रोक्न सकिने बताएका छन् ।  इजरायलले बिहीबारपनि गाजा पट्टीमा आफ्नो बमबारी जारी राखेको थियो । 

गाजाको हमासद्वारा सञ्चालित सिभिल डिफेन्स फोर्सले दुई विद्यालयमा आक्रमण गर्दा १८ जनाभन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले हमासको कमाण्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ । 
 

प्रतिक्रिया