आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि बस्दै आएको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरूले ११ वटा विभिन्न प्रस्तावित विषयहरूमा धारणा राखेका छन् । बुधबार उपसभापति पूर्णबहादुर खड्कासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विभिन्न एजेन्डा प्रस्तुत गरेका थिए ।

यस्तै, गृहमन्त्री रमेश लेखक राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा समितिलाई जानकारी दिएका थिए भने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल र लेबनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरुसँग नियमित सम्पर्क गरिरहेको जानकारी गराएकी थिइन् । 

त्यसबाहेक बुधबार १० जना केन्द्रीय सदस्य र बिहीबार प्रदेश सभापतिहरूसहित २४ जनाले प्रस्तावित ११ विषयप्रति आफ्ना धारणा राखेका थिए । बैठकमा प्रदेश प्रमुखहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेका छन् । आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । 

प्रतिक्रिया