इजिप्टलाई हराउँदै मोरक्कोले जित्यो कांस्य
काठमाडौं । मोरक्कोले इजिप्टलाई पराजित गर्दै पुरुष ओलम्पिक फुटबल प्रतियोगितामा पहिलो कांस्य पदक जितेको छ ।
बिहीबार राति कास्य पदकका लागि भएको खेलमा मोरक्कोले इजिप्टलाई ६–० गोल अन्तरले हराएको हो । पेरिस २०२४ मा सर्वाधिक गोल गर्ने खेलाडी सौफियाने रहिमीले दुई गोल गर्दै ओलम्पिकमा सर्वाधिक गोलकर्ता बनेका छन् । खेलको २३औं मिनेटमै अब्दे इज्जलजौलीले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाए। २६ औं मिनेटमा रहिमीले उक्त अग्रता दोब्बर बनाए। ५१ औं मिनेटमा बिलाल खनौसले अग्रता ३-० मा पुर्याए। त्यसको १३ मिनेटपछि रहिमीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। ७३ औं मिनेटमा अक्रम नकचले गोल गरे। ८७ औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै ६-० को जित दिलाए।
मोरक्को सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो । यस्तै, इजिप्ट फ्रान्ससँग पराजित भएको थियो । स्वर्ण पदकका लागि शुक्रबार फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । यी दुईबीचको खेल राति पौने १० बजे पेरिसमा हुनेछ ।
प्रतिक्रिया