बङ्गलादेशमा दुई आन्दोलनकारी विद्यार्थी नेतासहित अन्तरिम सरकार गठन

एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखको रूपमा शपथ लिएका छन् । 

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्वविपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराएका हुन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । 

सल्लाहकार सदस्यमा विद्यार्थी आन्दोलनका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि समेटिएका छन् ।  अन्य सदस्यहरूमा बंगलादेशको वातावरण कानून संघकी प्रमुख कार्यकारी सायदा रिजवाना हसन, महिला अधिकारकर्मी फारिदा अख्तर, मानवअधिकारवादी संगठन ‘अधिकार’ का संस्थापक अदिलुर रहमान खान, ‘हफाजत ए इस्लाम’ का सल्लाहकार एएफएम खालिद हुसेन, ग्रामीण बैंककी संस्थापक नुरजहाँ बेगम, स्वतन्त्रता सेनानी शर्मिन मुर्सिद, बिर प्रतिक फारुक–ए–आजम, बंगलादेश बैंकका पूर्व गर्भनर सलेहुद्दिन अहमद, ढाका विश्वविद्यालयका कानूनका प्राध्यापक आसिफ नजरुल, पूर्व महान्यायाधिवक्ता हसन आरिफ, सेवानृवित्त जर्नेल एम सकहवत हुसेन, चटगाउँ हिल ट्र्याक डेभलेपमेन्ट बोर्डका अध्यक्ष सुप्रदिप चक्मा, प्राध्यापक विधान रञ्जन रोय र पूर्वविदेश सचिव तौहिद हुसेन अन्तरिक सरकारको सदस्य बनेका छन । 

शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । युनुसको प्रमुख कार्य बंगलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया