आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज (शुक्रबार) श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व मनाउँदै छन् । जस परम्परा अनुसार आज घरका मूलढोकामा नागको चित्र (फोटो) टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।

नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत छ । 

नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले बज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्द पुराण, नारद पुराण, भविष्य पुराण र वराह पुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ ।  वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ । यसदिन काठमाडौंको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ ।
 

प्रतिक्रिया