प्राधिकरणले लेखालाई बुझायो उधोगले प्रयोग गरेको टीओडी मिटरको तथ्यांक
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका सबै उद्योगको टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको छ। प्राधिकरणले बिहीबार बक्यौता रकम तिर्न बाँकी रहेका सबै उद्योगको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको हो । उद्योगले प्रयोग गरेको विद्युत् बक्यौता उठाउने क्रममा उद्योगीले प्राधिकरणले आफू खुसी बिल काटेर पठाएको भन्दै विरोध गरिरहेको बेला टिआडी मिटरको बिल लेखा समितिलाई बुझाइएको हो । टिओडी मिटरमा कुन समयमा कुन उद्योगले कति विद्युत् खपत गरेको छ भन्ने डेटा रहेको छ ।
लेखा समितिले गत सोमबार बक्यौता रहेका उद्योगहरुको टीओडी मिटरको सबै विवरण बुझाउन प्राधिकरणलाई पत्र काटेको थियो। समितिको पत्रसँगै प्राधिकरणले सबै विवरण समितिमा पेस गरेको हो।
उद्योगीहरु र प्राधिकरणबीच वर्षौँअघिको महशुल बक्यौता विवाद चलिरहेको छ। पछिल्लो समय उक्त विवाद चर्किँदै गएपछि वर्तमान सरकारले प्रमाण दिएर बक्यौता उठाउनुपर्ने भन्दै उद्योगीलाई साथ दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्मले प्रमाणविना प्राधिकरणले उद्योगीसँग बक्यौता उठाउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने उद्योगहरुसँग जसरी पनि बक्यौता असुल गरिछाड्ने पक्षमा छन्। सोहीअनुसार ६ अर्ब ४३ करोड बक्यौता र त्यसको २५ प्रतिशत जरिवानासहित प्राधिकरणले उद्योगहरुलाई बिल काटेको छ।
प्रतिक्रिया