राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज, बैरागी स्वतः पदमुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सरकारले तत्कालीन मुख्य सचिव शंकरदास बैरागीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर नियुक्त गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद समेत खारेज हुने गरी उक्त निर्देशिका खारेज गरेको हो । यो सँगै तत्कालीन मुख्य सचिव बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट स्वतः मुक्त भएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तत्कालीन मुख्य सचिव बैरागीलाई राज्यमन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर अहिले निलम्बनमा रहेका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सचिव पदबाट अवकाश जानु केही दिन अघि मात्रै मुख्यसचिव नियुक्त गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बैरागीले राजीनामा दिइसकेका छन्। 

प्रतिक्रिया