उपमहानगर कार्यालयमा आन्दोलन चर्काएपछि मेयर साम्पाङले बोलाए वार्तामा

धरान । खानेपानीको शुल्क र महसुल बढाएको विषयमा राजनीतिक दलका युवा विद्यार्थीहरूले प्रदर्शन चर्काएपछि धरानका मेयर हर्क साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् ।  

आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए । मेयर साम्पाङले मौखिक रूपमा गरेको यस्तो आग्रह वेवास्ता गर्दै प्रदर्शनकारीले उपमहानगर गेटैमा प्रदर्शन जारी राखेका छन्।  विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो । प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् ।
९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी भएपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । त्यसपछि उनीहरूले उपमहानगर घेराउको कार्यक्रम बनाएर आन्दोलन सुरू गरेका हुन्।
धरान उपमहानगरको मातहतमा खानेपानी व्यवस्थापन बोर्ड रहेका कारण मेयर साम्पाङले महसुल वृद्धिको निर्णय गरेका थिए। उनले धरानमा खानेपानी आयोजनाको निर्माणमा एसियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएकोले महसुल बढाएको प्रष्टीकरण दिँदै आएका छन्।

प्रतिक्रिया