नेप्सेमा सामान्य अंकले वृद्धि, घाटामा रहेका सिमेन्ट कम्पनीमा लाग्यो सर्किट

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । अन्तिम समयमा सेलिङ प्रेसर आउँदा बजारमा झिनो अंकको मात्रै वृद्धि भएको हो
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलब ७० अंकले बढेर २ हजार ७ सय ६६ दशमलब ३८ मा पुगेको हो । आज ३ सय २२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब  ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ कारोबार भएको छ । 

कारोबार समयमै संसदको अर्थ समितिले अहिलेको बढ्दो सेयर बजार सम्बन्धमा छलफल राखेको र धेरैजसो लगानीकर्ताले त्यसैलाई आधार बनाएर प्रफिट बुक गर्न खोज्दा बजारमा उच्च सेलिङ प्रेसर आएको थियो । बुधबार १०८ अंकले बढेको बजार बिहीबार पनि दोहोरो अंकले बढ्ने लगानीकर्ताको अनुमान विपरित बजारमा उच्च सेलिङ प्रेसर आएको थियो ।

साताको अन्तिम कारोबार दिन ३०८ कम्पनीको ५ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । पछिल्लो समय कतिपय सांसदहरुले संसदको रोष्टमबाटै अहिले नेप्से अस्वभाविक रुपमा बढेको र सो विषयमा छानविन गर्नुपर्ने जस्ता अभिव्यक्ति दिएपछि बजारमा त्यसले नकारात्मक प्रभाव पारेको छ ।

नेप्सेमा आज उत्पादनमुलक अर्थात विशेषगरी सिमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा नेप्से परिसुचक ६।७ अंकले बढ्न पुगेको छ । शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार ७ सय ९६ रुपैयाँ संकलन भएको छ । 


लगानीकर्तालाई लाभांश दिन नसक्नेगरी घाटामा रहेको सिमेन्ट कम्पनीको सेयर मूल्य अन्तिम समयमा सर्किट लाग्न पुगेको थियो । सर्किट लागेसँगै सामाजिक संजालन त्यस्ता कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताहरु फस्ने सम्भावना उच्च रहेको प्रतिक्रिया आइरहेको छ ।

प्रतिक्रिया