जतिसुकै छानबिन समिति बनेपनि हवाई सुरक्षा कमजोर भयो, छानबिन गर्न निर्देशन

काठमाडौँ  । नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएरनभएको भन्दै संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले  छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न समेत निर्देशन दिएको छ । 
समितिले यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् सो को जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि नेपाल सरकार र पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले २०८० साल पुस ५ गते हवाई सुरक्षाबारे सरकारलाई समितिले दिएको निर्देशन कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि स्मरण गराएको छ । 

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेस गर्नर गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा पर्यटन मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो । 

दुर्घटना पिच्छे छानबिन समितिहरू बन्ने गरेका भएपनि सुधार आउनुको सट्टा समग्र हवाई सुरक्षाको अवस्थामा  झन् कमजोर बन्दै गइरहेको समितिको निष्कर्ष निकालेको छ  ।

प्रतिक्रिया