हसिनाको पसिना र संविधान संसोधनको रटान !

सात्तो गएका नेताहरूले संविधानलाई ढाल बनाएर सात्तो बोलाउने प्रयास गरेका छन्।संविधान बोल्दैन,संविधानले सानो ठूलो,उँच निच,धनी,गरीव केही भेदभाव गर्दैन।

तैपनि संविधानको नाउमा किन यति धेरै घम्साघम्सी ?मुलुकमा जेजति बिकृति,बिसंगती र अनियमितताको सुरुवात भयो, त्यो सबै संविधानको कारणले भयो, राजनीतिक दल र तिनका नेताहरू दोष मुक्त छन भनेजस्तै गरि भ्रमको खेती शुरु गरेका छन्,  नव गठबन्धन सरकारका आज्ञापालकहरुले । हो, संविधानको पुनरावलोकन हुनुपर्दछ।समय र परिस्थितिको माग भएअनुसार संविधान संसोधन गर्नै पर्छ।तर,यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा तालसुर मिलाएर संविधान संसोधनको गीत गाउनु तीजका लागि गाइएको गायिका कोमल वलीको पोईलजान पाम बोलको गीत जस्तै हो। न संविधान नै संसोधन हुन्छ।फेरि एकपटक केपी ओलीको चटकले दर्शकलाई राम्रै मनोरञ्जन दिनेभएको छ।

भ्रम,झुट र ठट्टाले सत्ता हाँक्न सकिन्छ भन्ने बलियो उदाहरण हुन केपी बा।बा एण्ड कम्पनीले बंगलादेशको हविगत हेरे पुग्छ।ज्वारभाटा उठेपछि थेग्न मुस्किल हुन्छ।शेख हसिनाले देश छोडेर भाग्नु पर्ने अवस्था किन आयो ? देशको उन्नती प्रगती भएकै थियो । तै पनि जनताले शेख हसिनालाई लखेटे किन ? घटनाको गाम्भीर्यताको आँकलन गर्न सक्नुपर्छ।दृश्यले देखाएको विश्लेषण गर्ने हो भने बंगलादेशको सेना बंगलादेश घटनाको प्रमुख कारक तत्व हो।जसरी सेनाका वर्दिवालाहरू हातमा घन बोकेर राष्ट्र निर्माताको सालिक निर्मम ढंगले फुटाईरहेको देखिन्छ यसले राख्ने मानेको ठूलो अर्थ छ।विद्यार्थीले सुरू गरेको आन्दोलन सेनाले आफ्नो अनुकुल भजायो।बंगलादेश आन्दोलन विश्व राजनीतिले पक्कै नजरअन्दाज गरेको छैन भन्ने लाग्छ।

सरकार प्रमुखको सुरक्षित भारत अवतरण र त्यसपछि डोजर र हम्बर बोकेर विद्यार्थी भन्दा अगि –अगि सेना पुगेर तोडफोड गरेको दृश्यले सेनाको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठाएको छ।राष्ट्र संकटमा पर्दा शान्ती सुरक्षा र राष्ट्रिय संरचनाको बचाउ गर्नुपर्ने सेनाले राष्ट्र निर्माताकै सालिक तोडफोड गर्न पुग्नुले के देखायो भने बंगलादेश अराजकता र अशान्तीको बाटोमा पुगोस भन्नेहरूको उद्येश्य पूरा ग र्‍यो।आन्दोलनरत विद्यार्थीहरुले गरिरहेको गल्ती के हो भने उनीहरुको आक्रोशमा सेना किन घिउ थपिरहेको छ ? मिहिन ढंगले सोच्नु जरूरी छ विद्यार्थी नेतृत्वले।दक्षिण एशियाको राजनीतिमा काउसो लाग्यो।

अफगानिस्तान जरजर अवस्थामा पुग्यो।पाकिस्तानको अस्थिरता उसको दीर्घ रोगनै बनिसक्यो।श्रीलंकाको त्राण तंग्रिदै छ सुस्त– सुस्त।एकै लपेटामा बंगलादेशको हविगत द्वन्द्वमा परिणत भयो।यो संकेत भनेको प्रजातन्त्रको खोल ओडेर भारतले देखाउन खोजेको अधिनायकवादको नयाँ स्वरूप हो।आफै बोक्सी आफै झाक्रीको अदृश्य रूप प्रदर्शन गर्न भारत बंगलादेशमा सफल भयो।बंगलादेशी विद्यार्थीहरुले जब बुझ्छन कि भारतको गिद्देनजर परेर बंगलादेशको शान्ती खलबलियो, त्यतिबेला ढीला भैसकेको हुनेछ।

अब यता नेपालको राजनीतिमा बंगलादेशको घटनाले कस्तो प्रभाव पार्ला ? भन्ने चासो डढेलो जसरी फैलिएको छ।दुर्गा प्रसाईंको जमात यो अवसरलाई हिट गर्ने अवसर हो चुक्नु हुँदैन भनेर तयारीमा जुटिसकेको छ।उता कमरेड प्रचण्डको उद्घोष भैसक्यो यो सरकारको आयु लामो छैनरे।भुसमा आगो झोस्ने दाउमा रहेका दुर्गा प्रसाईले कतिबेला सलाई कोर्छन र म घिउ थपौ भनेर बसेका प्रचण्ड कमरेडको तुषले अराजकता र उथलपुथल बाहेक केही देख्दैन।जसरी पनि सत्ता चाहिन्छ प्रचण्डको एकल उदेश्य हो।गाउँ –गाउँ पुगेर पार्टी बचाउमा लाग्ने भन्दै निस्केका प्रचण्डको द्वैध चरित्र स्पष्टसँग नियालेका जनताले अब गल्ती गर्दैन।

बिच्केका कार्यकर्ता समालेर ज्वारभाटा ल्याउन, कमरेडको सत्तामा रहँदाको परिवार मोहले क्रान्तिको मियो ढलिसक्यो भन्ने सन्देश दिएको छ ।उता सत्तासीन ओली बा र शेरबहादुरदेउवालाई गिरीबन्धु र शरणार्थीले सताएकै छ।बंगलादेश घटनाको प्रभाव र दवाव सिंहदरवार र बालुवाटारमा परेको छनक त रमेश लेखकले सुरक्षा अलर्ट गराएर देखाईसके।दुर्दिन नजिक छ भन्ने भेउ पाएका नेतृत्वलाई सुध्रने मौका छ।यो मौकामा चौका पर्ला नपर्ला त भन्न गार्‍हो छ।

परिस्थिति अनुकुल देखिदैन है सर्वसत्तावदी हो समयमै सोच।छिमेकीको घरमा आगो लाग्दा ज्वालाको लपेटाइमा आफ्नो घरपनि जल्न सक्छ।अहिले संविधान संसोधनको असम्भव गोटी फालेर असफल भयौं भने हसिनाको पसिनाले सबैलाई नबगाउला भन्न सकिन्न होस गरौं !!!

प्रतिक्रिया