कर्णालीको योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त

कर्णाली प्रदेशको योजना आयोगले आज पुर्णता पाएको छ । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त थियो । मुख्यमन्त्री यामलाल कडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । कडेलले आयोगको उपाध्यक्षमा सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् । यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् । उनीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कडेलले उनीहरूलाई शपथ खुवाएका हुन् । उपाध्यक्षमा नियुक्त भएका योगी वीरेन्द्रनगर नगरपालिका–४, सुर्खेत निवासी कृषि विज्ञ हुन् । उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन् । उपाध्यक्ष योगीले भारत, थाइल्यान्ड लगायतका विभिन्न देशहरूमा गएर त्यहाँको विकासबारे अध्ययन अनुसन्धान समेत गरेका छन् ।

प्रतिक्रिया