राजश्व संकलनका लागि सुदूरपश्चिम सरकारले ल्याएको अध्यादेश स्वीकृत

सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राजश्व संकलनका लागि अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि रोकिएको राजश्व संकलनको बाटो खुल्नेछ । सुदूरपश्चिम प्रदेशमा तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि साउन १ गतेदेखि बजेट शून्यताको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको चालु विशेष अधिवेशन भने गए रातीबाट अन्त्य गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा गए राती १२ बजे देखि लागु हुने गरी विशेष अधिवेशन अन्त्य गरिएको हो ।

प्रतिक्रिया