समग्र हवाई उड्डयन क्षेत्रको समस्या समाधानमा सरकारले पहल गर्छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन । आज सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाईनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले घटना विशेषको छानविनका लागि सो समिति गठन गरेपनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले पहल थालेको बताएका हुन । मन्त्री पाण्डेले अव बस्ने मन्त्री परिषद बैठकले हवाई क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न लागेको जानकारी समेत दिए । 
मन्त्री पाण्डेले प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिएको समेत बताए । मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो ?  अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको पनि स्पष्ट पारे । 
 

प्रतिक्रिया