काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली टिमका सबै सदस्यलाई महानगरले बिहीबार जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्।
खेलको टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवर सम्मानित भएका छन्। महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो।
नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न सकेन ।
साउन १७ गतदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो ।
प्रतिक्रिया