कांग्रेस दस्तावेज: माओवादीको सशस्त्र युद्धलाई ‘हिंसात्मक युद्ध’ को संज्ञा

काठमाडौ ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक विभिन्न ११ वटा एजेण्डामा छलफल भैरहेको छ । हिजोवाट सुरु भएको बैठकमा  छलफलका लागि संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका विभिन्न एजेण्डा प्रस्तुत भएका छन् ।

छलफलमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्तावमा माओवादीको सशस्त्र युद्धलाई ‘हिंसात्मक युद्ध’ को संज्ञा दिइएको छ । महासमिति बैठकमा आएको सुझावलाई समेटेर केन्द्रीय समितिको बैठकमा पेस गरेको प्रतिवेदनमा २०४६ सालको परिवर्तनपछि २०४८ सालको सुधारले फड्को मार्न लागेको नेपाली अर्थतन्त्रलाई माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्वले असर गरेको उल्लेख छ ।

त्यसो त माओवादीसँग सत्ता सहकार्यमै भएको बेलामा फागुनमा भएको महासमितिको बैठकमा जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोप्रति माओवादीले चर्को आपत्ति जनाएको थियो। यही महासमिति बैठकपछि कांग्रेससँग बिच्किएर एमालेसँग मिल्न पुगेको माओवादी अहिले सत्ताबाहिर पुगिसकेको छ ।

महासमिति बैठकमा पेश गरेको प्रस्तावमा केही परिमार्जन गरेपनि उपसभापति खड्काले पेस गरेको प्रतिवेदनमा माओवादी युद्धबारेको धारणा परिवर्तन भएको छैन । यो दस्तावेज केन्द्रीय समितको बैठकबाट पारित गर्ने कांग्रेसको तयारी छ ।

जारी केन्द्रीय समितिमा महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, सय दिने सांगठनिक अभियान, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्तिमा छलफल हुनेछ । यसैगरी भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेन्डा बनाइएको छ ।। 
 

प्रतिक्रिया