डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।
आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
रासस
प्रतिक्रिया