सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताए  । 

उनले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याए ।   

 मन्त्री गुरुङले खेल क्षेत्रमा नाम र दाम कमाउने मात्र नभई पर्यटनमैत्री, अनुशासित र पहिचानमैत्री हुनुपर्ने बताए ।“हाम्रो देशको खेल र खेलाडी विश्वको कम्तीमा २० देशलाई चिनाउन सक्ने हुनुपर्दछ, अनि मात्रै राष्ट्रको गौरव बढ्दै जानेछ”, उनले भने । खेलकुदमा सरकारको बजेट कम छ भएकाले अर्थ र खेलकुद मन्त्रालयसँग समन्वय गरी आगामी बजेटमा बढाउँदै लगिने धारणा व्यक्त गरे । 

मन्त्री गुरुङले महासङ्घद्वारा घोषित तेक्वान्दोका सर्वोत्कृष्ट पुरुष खेलाडी रिक्सन वाइबा, सर्वोत्कृष्ट महिला खेलाडी सुष्मिता थापा, उत्कृष्ट प्रदेश महासङ्घ लुम्बिनी, उत्कृष्ट जिल्ला काठमाडौं  तथा उत्कृष्ट प्रशिक्षक कृष्ण थापा, उदियमान खेलाडी सजिना तामाङ, उदियमान प्रशिक्षक मनोज पुलामीलाई सम्मान गरिएको थियो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले खेलकुद क्षेत्रको थप विकासका लागि सरकारले पर्याप्त बजेट छुट्याउनुपर्ने बताउँदै खेलाडीको मेहिनतको कदर गर्नुपर्ने बताए । महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले महासङ्घले देशभर तेक्वान्दोका दक्ष खेलाडी उत्पादनका लागि तालिमलगायत गतिविधि गरिरहेको बताए ।

रासस 

प्रतिक्रिया