हसिना हटेपछि बंगलादेशमा अल्पसंख्यक हिन्दूहरु निशानामा

एनेन्सी । बंगलादेशमा शेख हसिना वाजेद सत्ता छोडेर भारत  हिडेपछि त्यहाँ अल्पसंख्यक हिन्दू समुदायमाथि आक्रमण हुन थालेको जनाइएको छ ।  

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार  हसिनाले छात्रहरुको ठूलो प्रदर्शनपछि राजीनामा दिएर देश छाडेको केही घण्टापछि नै राजधानी ढाका लगायतका बिभिन्न स्थानमा बसोबास गर्ने हिन्दूका घरमा आन्दोलनकारी पसेर लुटपाट गरेका जनाइएको छ । 

९० प्रतिशत मुस्लिम जनसंख्या भएको बंगलादेशमा हिन्दूहरुको संख्या थोरै छ । हिन्दूहरुको घरमा लुटपाट गर्न जानेहरुले हिन्दू भनेका हसिना अर्थात उनको पार्टी अवामी लिगका समर्थक भएको भन्दै हसिनाले जस्तै देश छोडेर जान चेतावनी दिने गरेका छन् । ढाकाबाट करीब १सय किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रकोनामा रहेका केही हिन्दू परिवारमाथि पनि निशाना बनाइएको र उनीहरुको धन सम्पत्ती लुटिएको छ ।
बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूलाई सामान्यतया शेख हसिनाको पार्टी अवामी लिगका समर्थक मानिन्छ र उनीहरूमाथि विपक्षीहरूले आक्रमण गर्ने गरेका एक हिन्दू नागरिक अविराम सरकारले बीबीसी हिन्दीलाई बताएका छन् । शेख हसिनाले देश छोडेपछि सामाजिक सञ्जालमा हिन्दू सम्पदा र मन्दिरमा आक्रमण भएको समाचारको बाढी आएको थियो ।

भारतका विदेशमन्त्री एस. जयशंकरले अगस्ट ६ मा संसदमा बोल्नेक्रममा पनि बंगलादेशमा बसोबास गर्ने अल्पसंख्यकमाथि हुने गरेको हमला,मन्दिर र पसलहरुमा भएको हमलाबारे कुरा उठाएका थिए । 
 

मुस्लिम युवाहरु  हिन्दूहरुको संरक्षणमा

समाचारमा बताइए अनुसार कतिपय मुस्लिम युवाहरु भने हिन्दूहरुमाथि हुने गरेको वर्वरतालाई रोक्न अघि बढेका छन् । मुस्लिम युवाहरु हिन्दूहरूको घर र धार्मिक स्थलको रक्षा गर्न सक्रिय भएर लागेका छन् ।

अल्पसंख्यक माथि पटक पटक आक्रमण

सन् १९९२ मा भारतको अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएपछि बंगलादेशमा पनि अल्पसंख्यकमाथि आक्रमण भएको थियो । त्यसपछिका दशकहरूमा हिन्दूहरूमाथि धेरै आक्रमणहरू भए।बंगलादेशको मानवअधिकार समूह एनओ सालिस सेन्टरको तथ्याङ्कअनुसार सन् २०१३ को जनवरीदेखि सेप्टेम्बर २०२१ सम्ममा हिन्दू समुदायमाथि ३ हजार ६ सय ७९ वटा आक्रमण भएका छन् । यसमा तोडफोड, आगजनी र हिंसा भएको छ ।

२०२१ मा दुर्गा पूजाको समयमा हिन्दू अल्पसंख्यकहरूको घर र मन्दिरहरूमा आक्रमण पछि, मानव अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले बंगलादेशमा विगत केही वर्षहरूमा व्यक्तिहरू, साम्प्रदायिक हिंसा र अल्पसंख्यकका घरहरू र पूजास्थलहरूमा लगातार आक्रमणहरू भइरहेका जनाएको थियो । 
 

प्रतिक्रिया